खिम्ती-घ्वाङ् जलविद्युत् आयाेजनामा एनएमबि बैंकले एक अर्ब २४ करोड रूपैयाँ ऋण लगानी गर्ने


काठमाडाैँ । वन्डर्स इनर्जी प्रा.लि.ले निर्माण गर्न लागेको ९ मेगावाटको खिम्ती-घ्वाङ् साना जलविद्युत् आयोजनामा एनएमबि बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ ।

लगानी लगानी गर्ने विषयमा आज सम्झौता भएको हो । सम्झौतामा एनएमबि बैंकका तर्फबाट सस्टेनेवल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले दोलखाको जिरी नगरपालिका वडा नं. १ र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. १ को क्षेत्रमा पर्ने आयोजना २०८४ चैतमा सम्पन्न गर्नेगरि काम भइरहेको जनाएको छ ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति वैशाख १५ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।

आयोजनाका लागि आवश्यक सम्पूर्ण जग्गा खरिद,कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निर्माणा , गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिल, हाईड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

लगानीका लागि बाँकी ५६ करोड मध्ये रु ३५ करोड जुटिसकेको र ३० करोड रूपैयाँ असोजभित्रमा जुटाउने गरि काम भैइरहेको कम्पनीका प्रबन्ध सञ्चालक दुलालले बताए ।