काठमाडौँ । सरकारले देशमा आर्थिक समृद्धि हासिल गर्न अन्तर्राष्ट्रिय सहायता र व्यापारलाई मुख्य आधार बनाएर अघि बढ्ने रणनीति लिएको छ।
मङ्गलबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले सबै क्षेत्रमा एकैपटक हात हाल्नुको साटो प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने बताएका हुन्।
सबैतिर स्रोतसाधन छर्किंदा अपेक्षाकृत परिणाम आउन नसकेको स्वीकार गर्दै उनले सीमित क्षमता र भूराजनीतिक चुनौतीका बिच स्पष्ट प्राथमिकता तय गर्नुपर्नेमा जोड दिए।
नेपालले अति कम विकसित मुलुकका रूपमा पाउँदै आएको शून्य भन्सार दरको सुविधाबाट समेत सोचेजस्तो लाभ लिन नसकेको उल्लेख गर्दै मन्त्री खनालले भने, “हामी लामो समयदेखि चुनौतीपूर्ण अवस्थाबाट गुज्रियौँ, विगतमा कहाँ–कहाँ अवसर गुमायौँ भनेर समीक्षा गर्ने समय आएको छ।”
अबको विश्व परिवेशमा राजनीतिक प्रभाव पनि आर्थिक शक्तिसँगै जोडिएर आउने भएकाले नेपालले आफ्ना कूटनीतिक नीति तथा योजनाहरूलाई सोहीअनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्