ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्यो, निक्षेप ६ खर्ब ६९ अर्ब नाघ्यो


ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा २२.६७ प्रतिशतको वृद्धि गरेको जनाएको छ। सञ्चालन नाफामा सुधार तथा कर्जा नोक्सानी व्यवस्थापन (इम्पेयरमेन्ट) खर्चमा कमी आएपछि बैंकको नाफा उल्लेख्य रूपमा बढेको हो।

समीक्षा अवधिसम्म बैंकले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.६७ प्रतिशत बढी हो। सञ्चालन नाफा पनि २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँमा स्थिर रहेको छ। सञ्चित मुनाफा १२.९८ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १०.८५ प्रतिशतले वृद्धि भई २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप २१.५३ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी ७.१३ प्रतिशतले वृद्धि भई ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

यद्यपि खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। कर्मचारी खर्च भने ७.८६ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यसबीच इम्पेयरमेन्ट चार्ज १९.८८ प्रतिशतले घटेर ४ अर्ब ७८ करोड ८४ लाख रुपैयाँमा झरेपछि सञ्चालन नाफा र खुद नाफामा सकारात्मक प्रभाव परेको देखिएको छ।

नियामकीय समायोजन तथा विनियोजनपछि बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकतर्फ बैंकको पूँजी पर्याप्तता अनुपात १२.६५ प्रतिशतबाट घटेर १२.१० प्रतिशतमा झरेको छ। निष्क्रिय कर्जा अनुपात भने ४.८६ प्रतिशतबाट सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ। यद्यपि लागत कोष ४.३० प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा झरेको छ, जसले बैंकको निक्षेप लागतमा सुधार भएको संकेत गर्छ।

बैंकको प्रति सेयर आम्दानी १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ १७४.८० रुपैयाँबाट बढेर १८३.१४ रुपैयाँ पुगेको छ।