एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढ्दा कर्जा १० प्रतिशतले विस्तार


काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा ४.७५ प्रतिशत वृद्धि गरेको जनाएको छ। समीक्षा अवधिमा बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँभन्दा बढी हो।

बैंकको सञ्चालन नाफा सामान्य रूपमा ०.४९ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी पनि ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशतले बढेर १३ अर्ब ७२ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चित मुनाफा १२.४९ प्रतिशतले वृद्धि भई ५ अर्ब ५० करोड ४१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १३.४५ प्रतिशतले बढेर १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा तथा सापटी १०.३७ प्रतिशतले विस्तार हुँदै २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

कर्मचारी खर्च ७.८३ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले २७ करोड २८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज गरेको छ। नियामकीय समायोजन तथा विनियोजनपछि बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकतर्फ बैंकको पूँजी पर्याप्तता अनुपात १३.१७ प्रतिशतबाट घटेर १२.२३ प्रतिशतमा आएको छ। निष्क्रिय कर्जा अनुपात ०.३८ प्रतिशतबाट सामान्य बढेर ०.४९ प्रतिशत पुगे पनि यो अझै बैंकिङ क्षेत्रकै न्यून स्तरमध्ये एक रहेको छ। लागत कोष ( भने ३.८७ प्रतिशतबाट घटेर ३.१५ प्रतिशतमा झरेको छ, जसले बैंकको निक्षेप लागतमा सुधार भएको देखाउँछ।

बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी ३७.३९ रुपैयाँबाट सामान्य घटेर ३६.९५ रुपैयाँमा आएको छ। प्रति सेयर नेटवर्थ भने २४६.७४ रुपैयाँबाट बढेर २५६.४७ रुपैयाँ पुगेको छ। समीक्षा अवधिको अन्त्यमा बैंकको बजार मूल्य ६९५ रुपैयाँ कायम रहँदा मूल्य–आम्दानी अनुपात १८.८१ गुणा रहेको छ।