दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड


काठमाडाैँ । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले दुर्गम क्षेत्रमा व्यावसायिक लगानी भित्र्याउन  पुँजीको सुरक्षा र नाफाको सुनिश्चितता हुनुपर्ने बताएका छन् । 

बिहीबार सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले निजी क्षेत्रले लगानी गर्नुअघि बजार, पुँजीको सुरक्षा र प्रतिफलको सम्भावनालाई प्राथमिकता दिने भएकाले दुर्गममा अपेक्षित लगानी हुन नसकेको बताए । बैठकमा सांसद कँडेलले विद्युत क्षेत्रमा गरिएको प्रतिवद्धताअनुसार सहुलियत उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गरे ।

ऐनमा नै व्यवस्था भएको विषयमा कुनैपनि प्रकारको द्विविधा हुनु नहुने भन्दै उनले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले उठाएका जायज मागहरूलाई आधार मानेर अघि बढ्नुपर्ने सुझाव दिए । जलविद्युत् आयोजनाहरूको सुरक्षाका सन्दर्भमा चर्चा गर्दै उनले सुरक्षाका दुईवटा आयाम रहेको औंल्याए ।

विष्फोटक पदार्थको प्रयोग हुने आयोजनाहरूमा नेपाली सेनाको टोलीले सुरक्षा दिइरहेको भएपनि स्थानीय तहमा हुने ‘रेन्ट–सिकिङ’ (अवाञ्छित लाभ लिने) प्रवृत्ति र स्थानीयको असन्तुष्टिले चुनौती थपेको उनको भनाइ छ । आयोजनाबाट हुने नाफामा स्थानीयको हक र त्यहाँ उत्पन्न हुने अवरोधलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए ।

राजश्व र रोयल्टी बाँडफाँटको विषयमा बोल्दै सांसद कँडेलले हाल कार्यान्वयनमा रहेको प्रणालीमा सुधारको आवश्यकता औंल्याए । विशेषगरी ऊर्जा मन्त्रालयले स्थानीय र प्रदेश तहलाई उपलब्ध गराउनुपर्ने विद्युत् रोयल्टी वर्षौंदेखि बाँकी रहेको भन्दै उनले राजस्व बाँडफाँटमा देखिएका जटिलता समाधान गर्न आग्रह गरे ।

उनले संघीय, प्रादेशिक र स्थानीय तहबीच राजस्व बाँडफाँटमा देखिएका व्यावहारिक समस्याहरूलाई नीतिगत रूपमै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।