ओमन बजारमा ‘मेड इन नेपाल’ प्रवर्धन गर्न समझदारी


काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमनको बजारमा प्रवर्धन तथा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) र गैरआवासीय नेपाली सोसल क्लब ओमनबिच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मस्कटमा आयोजित एक कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा ओमनका लागि नेपाली कार्यवाहक राजदूत विशेष कुमार साहको उपस्थिति रहेको थियो । समझदारीअनुसार ओमनमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापारी र सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार फिनका उपाध्यक्ष किरण कुमार डंगोलले बताए ।

सम्झौतामा ‘मेड इन नेपाल’ उत्पादनको प्रवर्धनलाई प्राथमिकता दिइएको छ । ओमनमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची तथा विभिन्न मसला, हस्तकला, फेल्ट, गार्मेन्ट,कार्पेट, जडिबुटीका सामग्री र परम्परागत पोशाकलगायत नेपाली उत्पादनको प्रवर्धन लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिनेछ ।

त्यस्तै, ओमनको भन्सार प्रक्रिया, आयातसम्बन्धी मापदण्ड, गुणस्तर तथा हलाल प्रमाणीकरण र व्यापारिक नीतिबारे गैरआवासीय नेपाली सोसल क्लबले महासङ्घलाई आवश्यक जानकारी तथा मार्गदर्शन उपलब्ध उल्लेख छ । महासङ्घले भने ओमनका आयातकर्तालाई नेपालका भरपर्दा निर्यातकर्ताको सूची तथा उनीहरूले उत्पादन गर्ने वस्तुको विवरण उपलब्ध गराउने समझदारी भएको छ ।

समझदारीले नेपालका उत्पादक र ओमनमा रहेका नेपाली व्यवसायी तथा आयातकर्ताबिच प्रत्यक्ष सम्पर्क विस्तार गरी अनावश्यक बिचौलिया लागत घटाउने लक्ष्यसमेत राखेको छ । यसबाट नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्नुका साथै उत्पादकले आफ्ना वस्तुको उचित बजार मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताए ।

नेपालको प्रशोधन, उत्पादन तथा निर्यातजन्य उद्योगमा गैरआवासीय नेपाली तथा ओमानी लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्ने र आवश्यक मार्गदर्शन उपलब्ध गराउने विषय पनि समझदारीमा समेटिएको छ । ओमन भ्रमणमा रहेको नेपाली टोली शुक्रबार राती नै नेपाल फर्केको छ ।