नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा कुन मेडिकल कलेजका विद्यार्थीको नतिजा कस्तो ?


काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सञ्चालन गरेको विशेष परीक्षाको नतिजामा नेपालमा पढेका उतीर्ण हुने विद्यार्थीको सङ्ख्या ९८.३७ प्रतिशत छ ।

समग्रमा हेर्दा विदेशका मेडिकल कलेजमा पढेका भन्दा नेपालका पढेका मेडिकल कलेजमा पढेका विद्यार्थीको उत्तीर्ण सङ्ख्या उत्कृष्ट छ ।

साउन ७ र ८ गते सञ्चालन गरिएको परीक्षामा सहभागी कुल ९१९ विद्यार्थीमध्ये ९०४ जना उत्तीर्ण भएका छन् भने १५ जनामात्रै अनुत्तीर्ण भएका थिए ।

सार्वजनिक गरिएको नतिजाअनुसार अधिकांश मेडिकल तथा डेन्टल कलेजहरूले शतप्रतिशत नतिजा हासिल गरेका छन् ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, किस्ट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेस, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, नेपाल मेडिकल कलेज, नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान, पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,नेपालगञ्ज मेडिकल कलेजको नतिजा १०० प्रतिशत छ । पिपुल्स डेन्टल कलेज,कान्तिपुर डेन्टल कलेजमा पढेका विद्यार्थीको सङ्ख्या पनि शतप्रतिशत छ ।

विद्यार्थी सङ्ख्याका आधारमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट सबैभन्दा धेरै १०३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १०२ मध्ये ९८ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ९६.०८ रहेको छ ।

सार्वजनिक नतिजाअनुसार काठमाडौं मेडिकल कलेजको उत्तीर्ण प्रतिशत ९८.१८, महाराजगञ्ज शिक्षण क्याम्पसको ९७.६७, चितवन मेडिकल कलेजको ९७.५० तथा नोबेल मेडिकल कलेज को ९७.४४ रहेको छ ।

नेसनल मेडिकल कलेजमा पढेका २६ मध्ये २३ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ३ जना अनुत्तीर्ण भएका छन् । सो कलेजको उत्तीर्ण प्रतिशत ८८.४६ रहेको काउन्सिलले जनाएको छ ।