रास्वापाले आफ्ना सांसदहरुलाई पुनः प्रशिक्षण दिने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई पुनः प्रशिक्षण दिने भएको छ। संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित रास्वपाले साउन २९ देखि ३१ गतेसम्म तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो।

प्रशिक्षण ललितपुरको गोदावरीस्थित फरेस्टमा सञ्चालन हुनेछ। यसअघि दुईपटक प्रशिक्षण दिइसकिए पनि सांसदहरूको आवश्यकता र सुझावका आधारमा थप प्रशिक्षण आवश्यक देखिएकाले तेस्रोपटक कार्यक्रम राखिएको पार्टी सचेतक क्रान्तिशिखा धितालले बताइन् ।

प्रशिक्षणमा पार्टीको नीति, संसदीय अभ्यास, सांसदहरूको भूमिका तथा संसदमा प्रभावकारी प्रस्तुति र जिम्मेवारी निर्वाहसँग सम्बन्धित विषयलाई प्राथमिकता दिइनेछ।

‘धितालले भनिन्, सिक्ने प्रक्रिया जीवनभर चलिरहन्छ, यसपटक सांसदहरूकै सुझाव र आवश्यकता अनुसार पार्टीको नीतिलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका खेल्ने विषयमा प्रशिक्षण दिइनेछ।’

रास्वपाले यसअघि २०८२ चैत ३ र ४ गते ललितपुरको होटल टुलिपमा पहिलो प्रशिक्षण सञ्चालन गरेको थियो। त्यसपछि वैशाख २६ र २७ गते जावलाखेलमा दोस्रो प्रशिक्षण आयोजना गरिएको थियो।