काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास वितरणमा अनियमितता भएको लागेमा छानबिन गर्न संसदीय समितिलाई आग्रह गरेकी छिन् ।
बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनियमितता भएको लागेमा छानविन गर्न आग्रह गरेकी हुन् ।
बैठकमा सहभागी सांसद तथा उपभोक्ताका प्रतिनिधिहरुले पाँचतारे लगायतका होटललाई ग्यास दिएर उपभोक्तालाई नदिएको आरोप लगाएका थिए ।
जवाफमा मन्त्री कुमारीले पाँचतारेसहितका होटलमा ग्यासको प्रयोग तथा वितरणबारे संयुक्त अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्न आग्रह गरेकी हुन् ।
मन्त्री कुमारीले उपभोक्ता मञ्च, समितिका सदस्य र मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली बनाएर पाँचतारे तथा अन्य होटलमा अनुगमन गर्न सुझाव दिँदै अनुगमनबाट भेटिएका तथ्य लिखित रूपमा मन्त्रालयलाई उपलब्ध गराउन आग्रह गरिन् ।
उनले भनिन्, “सभापतिन्यू, माननीयज्यूहरुलाई र उपभोक्ता मञ्चका साथीहरुलाई के भन्छु भने सबैजना मिलेर तीनैजनाको एउटा ग्रुप बनाएर जति पनि हाम्रो फाइभ स्टार होटलहरु र अरु होटलहरु पनि छन्, त्यसमा गएर एक–एकको अनुगमन गर्नुस् । त्यहाँबाट कति के पाइएको हो भनेर लिखितमा प्लिज यति मन्त्रालयलाई सहयोग गर्नुस्, कहाँ–कहाँ के भएको हो ? त्यो आजैदेखि काम सुरु गरौं र जाऔं । यो प्रतिनिधिसभामा यो कुराहरु पनि उठिरहेको छ । यो सत्य तथ्य अगाडि ल्याइदिनुस्, मेरो विनम्र अनुरोध छ ।”
उनले ग्यास वितरणलाई सहज बनाउन टेकुसहित पाँच स्थानबाट ग्यास उपलब्ध गराएको जानकारी दिइन् । उपभोक्ताका गुनासा आफूले सुनेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको दाबी गरिन् । जनताको सेवक भएर काम गर्न आएको बताउँदै उनले इमानदारी र काममा कुनै सम्झौता नगर्ने बताइन् ।
उनले ग्यास अभाव भएका परिवारका बारेमा जानकारी आएमा तत्काल सिलिन्डर उपलब्ध गराउन मन्त्रालय र आयल निगम तयार रहेको पनि उल्लेख गरिन् । आफूले सांसदहरूलाई समेत ग्यास अभाव भएमा जानकारी गराउन आग्रह गरेपनि त्यस्तो माग नआएको बताइन् ।


प्रतिक्रिया दिनुहोस्