काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन् ।
यसका लागि सरकारले घनीभूत छलफल गरिरहेको उनले बताए ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ वार्षिक साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै अर्यालले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
अर्यालले निजगढ विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र यसबारेमा आवश्यक बहस अगाडि बढिरहेको जानकारी दिए । उनले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको उच्चतम सदुपयोग गर्नुपर्ने र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेकोमा जोड दिए ।
वर्तमान सरकार र संसद्मा युवाहरूको बाहुल्यता रहेको उल्लेख गर्दै उनले विकास प्रक्रियाका लागि केही समय धैर्य गर्न नागरिकलाई आग्रह गरे । अर्यालले समाजमा नकारात्मक सन्देश प्रवाह गर्दा मुलुक असफलतातिर जाने भन्दै सकारात्मक सोचका साथ अघि बढ्न सरोकारवालाहरूलाई आग्रह गरेका हुन् ।
वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक म्यान्डेट पाएको दाबी गर्दै उनले पर्यटन मात्र नभई उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा समेत सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने अभियानमा सरकार दृढ रहेको बताउँदै उहाँले अबको सरकारलाई असफल हुने छुट नभएको प्रष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्