काठमाडौँ । निरन्तरको वर्षासँगै आएको बाढी तथा पहिरोका कारण रोल्पामा ठुलो मानवीय तथा भौतिक क्षति भएपछि रोल्पाका सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग भेट गरी थबाङ गाउँपालिका–५ उवा, सुनछहरी गाउँपालिका–२ भित्रीगाम तथा यसअघि सुनछहरी गाउँपालिका–सेरममा भएका पहिरोबाट भएको क्षतिबारे जानकारी गराउँदै तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि विशेष पहल गर्न आग्रह गरेका हुन् ।
भेटका क्रममा रोल्पाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण सर्वसाधारणको ज्यान गएको, धेरै व्यक्ति बेपत्ता तथा घाइते भएको, कतिपय बस्ती नै जोखिममा परेको र घर, पशुचौपाया, खाद्यान्न, सडक, खानेपानी तथा विद्यालयजस्ता सार्वजनिक संरचनामा व्यापक क्षति पुगेको विषय प्रधानमन्त्रीसमक्ष उठाइएको पुनले जानकारी दिएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले उवा घटनापछि सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायले देखाएको उद्धार तथा खोजी कार्यको प्रशंसा गर्दै अझै बेपत्ता रहेका व्यक्तिहरूको खोजीलाई तीव्र बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । साथै, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेका छन् ।
भेटमा बाढी तथा पहिरोमा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति, घरबारविहीन बनेका परिवारलाई तत्काल राहत र अस्थायी आवास उपलब्ध गराउन तथा दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाउन सरकारको ध्यानाकर्षण गराइए पुनले उल्लेख गरेका छन् ।
अवरुद्ध सडक, खानेपानी लगायतका आधारभूत सेवा तत्काल सञ्चालनमा ल्याउन र क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्न पनि आग्रह गरिएको छ ।
वर्षायाम अझै बाँकी रहेकाले थप विपद्को जोखिम कायम रहेको उल्लेख गर्दै रोल्पाको भौगोलिक विकटतालाई ध्यानमा राखी आवश्यक उद्धार टोली र हेलिकोप्टर तयारी अवस्थामा राख्नसमेत सरकारलाई सुझाव दिइएको पुनले जानकारी दिए ।
प्रधानमन्त्री शाहले उवा घटनालगायत रोल्पाका विपद्पीडितको उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिँदै राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको बताएका छन् । उनले बेपत्ता व्यक्तिको खोजीलाई थप तीव्र बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको पुनले जानकारी दिए ।
प्रधानमन्त्रीले बाढी तथा पहिरोबाट अवरुद्ध सार्वजनिक सेवा तत्काल पुनः सञ्चालन गर्ने र पुननिर्माणको काम गर्ने आश्वसान दिएको पुनले जानकारी दिए । भेटमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालमगर, नेकपाका लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ तथा सहसंयोजक कृष्ण अधिकारीको पनि सहभागिता रहेको थियो ।
यसैबिच , सांसद पुनले बाढी–पहिरोपीडितको राहत तथा उद्धारमा सहयोग पुर्याउन आफूले प्रतिनिधिसभा सदस्यका रूपमा प्राप्त गर्ने एक महिनाको तलब पीडित परिवारका लागि प्रदान गर्ने घोषणा गरेका छन् । साथै, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक समन्वय तथा पहल निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
विपद्का कारण शोकमा परेका रोल्पावासीप्रति समवेदना व्यक्त गर्दै उनले देश तथा विदेशमा रहेका नेपालीहरूलाई पीडित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अपिल गरेका छन्। साथै, वर्षायाममा सम्भावित प्राकृतिक विपत्तिबाट बच्न सतर्कता अपनाउन र सामूहिक रूपमा विपद् व्यवस्थापनमा जुट्न सबै पक्षसँग आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्