आइतबार उपत्यकाको कुन कुन स्थानबाट ग्यास वितरण हुँदैछ ?


काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकाका विभिन्न ७ स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण हुने भएको छ । आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ७ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली बूढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिकाको परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरबाट ग्यास बिक्री गर्ने जनाएको छ ।

निगमका अनुसार टेकुमा नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सगर ग्यास बिक्री वितरण हुने छ । पशु सेवा शाखा चपली बूढानीलकण्ठमा नेपाल, एचपी र भानु तथा राधास्वामी कीर्तिपुरमा नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास पाइने छ ।

जुडो हल नयाँ बजारमा नेपाल, एचपी र ओम तथा तारकेश्वरमा नेपाल र एचपी ग्यास र चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास विक्री वितरण हुने जनाइएको छ ।

यसैगरी भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसरबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टरसुगम र एसटीसी ब्रान्डका सिलिण्डर बिक्री वितरण गरिने नेपाल आयल निगमको सूचनामा उल्लेख छ ।

निगमका अनुसार शनिबार काठमाडौँका ४ स्थानबाट विभिन्न कम्पनीका करिब ६ हजार ग्यास सिलिण्डर करिब ९० वटा गाडीमार्फत बिक्री गरिएको थियो ।