रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल


काठमाडौं — नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने बताए।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक र सांस्कृतिक सम्बन्धसँगै आर्थिक तथा व्यावसायिक साझेदारीको समेत जीवन्त उदाहरण भएको बताए।

हजारौँ नेपाली युवाले कोरियामा काम गरेर हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति रहेको उनले उल्लेख गरे।

कोरियाले करिब ६० वर्षअघि गरिबीबाट औद्योगिक शक्तिका रूपमा फड्को मार्दा अपनाएको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको समन्वयबाट नेपालले पनि सिक्न सक्ने उनले बताए।

रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सके नेपालको औद्योगिक चरित्रमै परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।

जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधिलगायत साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै निवर्तमान अध्यक्ष ढकालले भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादनको आधारका रूपमा स्थापित हुने अवसर दिएको बताए।

लगानीमैत्री नीति तथा एकद्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै उनले यस अभियानलाई थप तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए।

देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै उनले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि उक्त कम्पनी लगानी साझेदार बन्न सक्ने बताए।

सानो पुँजी भएका व्यक्तिले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सक्ने उनले जानकारी दिए।

रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रलाई आवश्यक रहेको बताउँदै उनले स्वदेशमा उद्यम स्थापना गर्दा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको नियमित संवादबाट हटाउन सकिने बताए।

अन्त्यमा उनले रिटर्नी उद्यमीहरूको लगानी र सीपले स्वदेशमा उत्पादन, रोजगारी र समृद्धिको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्दै एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत, दूतावासका कर्मचारी, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्टलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।