कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘आइआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा


काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमा ‘आइआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।

यस सुविधा मार्फत कुमारी बैंकका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।

ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपको आइआरडी प्रोत्साहन कार्यक्रम मेनु मार्फत योग्य कारोबारहरूको सङ्ख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्था समेत सजिलै हेर्न सक्नेछन् । यसले ग्राहकहरूलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

आन्तरिक राजस्व विभागको व्यवस्था अनुसार योग्य कारोबारमध्ये बाट दैनिक लक्की ड्र मार्फत एक जना ग्राहकले कर कट्टी पश्चात रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन, भने प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।

कुमारी बैंकले ग्राहकहरूलाई व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

बैंकले यस अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।