बाग्मती र लुम्बिनी प्रदेशका सांसदलाई तटस्थ बस्न राप्रपाको निर्देशन


काठमाडौँ । राप्रपाले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज लिने विश्वासको मतमा सहभागी नहुने निर्णय गरेको छ। पार्टीले दुवै प्रदेशका सांसदलाई मतदानमा तटस्थ बस्न निर्देशन दिएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बन्धित संसदीय दलका नेतालाई पत्र पठाउँदै प्रदेशमा सरकार निर्माणसम्बन्धी अर्को निर्णय नभएसम्म तटस्थ रहन निर्देशन दिएका छन्। सोहीअनुसार प्रदेशसभा सदस्यलाई ह्विप जारी गर्न निर्देशन दिइएको छ।

राप्रपाका बागमतीमा १२ र लुम्बिनीमा ४ सांसद छन्। बागमतीमा राप्रपाको समर्थन नपाए मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आवश्यक बहुमत जुटाउन कठिन हुने देखिएको छ। यससँगै उनको सरकारको निरन्तरतामाथि संकट थपिएको छ।

लुम्बिनीमा पनि मुख्यमन्त्री चेतनारायण आचार्यले आजै विश्वासको मत लिँदैछन्। राप्रपा तटस्थ बसेपछि दुवै प्रदेशमा सत्ता समीकरण थप निर्णायक मोडमा पुगेको छ।

राप्रपाले तत्काल कुनै पक्षमा समर्थन नगर्ने नीति लिएपछि अब दुवै प्रदेशमा सरकार जोगाउन सत्तारूढ दलहरूले अन्य साना दल तथा स्वतन्त्र सांसदको समर्थन जुटाउनुपर्नेछ ।