दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ५ अर्ब रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार एग्रीकल्चरल बण्ड (९ वर्षे) को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५० करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुई कम्पनीको सेयरमूल्य क्रमश १४.९९ र १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १०.६३ प्रतिशतले घटेको छ ।

कुल ३४७ कम्पनीको एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।