काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले विदेशी नागरिक चिकित्सकहरूको दर्ता प्रक्रियामा पेश गरिएका कागजातहरूको आधिकारिकतामाथि गम्भीर प्रश्न उठेको भन्दै छानबिन प्रक्रिया अघि बढाएको छ ।
काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै केही विदेशी चिकित्सकले पेश गरेका ‘गुड स्ट्यान्डिङ” लगायतका कागजात फर्जी रहेको पुष्टि भएकाले दर्ता प्रक्रिया थप कडाइका साथ अगाडि बढाइएको जनाएको छ ।
काउन्सिलका अनुसार नेपालका मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमार्फत दर्ताका लागि सिफारिस गरिएका विदेशी चिकित्सकहरूको कागजात पुनः प्रमाणीकरण गरिनेछ । साथै, दर्ता भइसकेका र प्रक्रियामा रहेका चिकित्सकको विवरणसमेत अध्ययन गरिने काउन्सिलले जनाएको छ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, “विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका केही कागजातको आधिकारिकतामाथि गम्भीर शङ्का उत्पन्न भई अनुसन्धान गर्दा सम्बन्धित नियामक निकायबाट जारी नभएका तथा फर्जी प्रमाणपत्र पेश गरिएको पुष्टि भएको छ ।”
यस घटनापछि काउन्सिलले विदेशी चिकित्सकहरूको दर्ता, कार्यस्थिति तथा व्यावसायिक गतिविधिबारे अध्ययन गर्न विशेष समिति गठन गरेको जनाएको छ। समितिले नेपालमा कार्यरत विदेशी चिकित्सकहरूको योग्यता र पेशागत प्रमाणपत्रको सत्यताबारे अनुसन्धान गर्नेछ ।
काउन्सिलले स्वास्थ्य सेवाको गुणस्तर र नागरिकको विश्वास कायम राख्न कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
सूचनामा थप भनिएको छ, “नेपालमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक विदेशी नागरिक चिकित्सकको योग्यता तथा पेशागत कागजातको पूर्ण प्रमाणीकरण सुनिश्चित गर्न नेपाल मेडिकल काउन्सिल प्रतिबद्ध रहेको छ ।”
काउन्सिलले विदेशी चिकित्सकको सिफारिस गर्ने मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूलाई समेत कागजातको आधिकारिकता यकिन गरेर मात्र सिफारिस गर्न निर्देशन दिएको छ। कागजात प्रमाणीकरण नगरी सिफारिस गरिएको पाइएमा त्यसको जिम्मेवारी सम्बन्धित संस्थाले नै वहन गर्नुपर्ने चेतावनी पनि दिइएको छ ।
स्वास्थ्य क्षेत्रमा पारदर्शिता, विश्वसनीयता तथा पेशागत मापदण्डलाई थप सुदृढ बनाउन नेपाल मेडिकल काउन्सिलले विदेशी चिकित्सक दर्ता प्रक्रियामा निगरानी बढाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्