काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्ट र नेपालका लागि (अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ) का आवासीय प्रतिनिधि प्रणवकुमार गुप्ताबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
ललितपुरको खुमलटारस्थित सेबोन कार्यालयमा भएको भेटमा नेपालको पुँजी बजारको वर्तमान अवस्था, नीतिगत सुधार, दिगो बजार विकास तथा सेबोनको संस्थागत क्षमता सुदृढीकरणका विषयमा छलफल भएको छ।
भेटमा अध्यक्ष भट्टले पुँजी बजारलाई आधुनिक बनाउन तथा बजारमा पारदर्शिता अभिवृद्धि गर्न सेबोनले अघि बढाएका पहल तथा सुधारका विषयमा आईएमएफ प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो। नेपालको धितोपत्र बजारलाई थप सुदृढ बनाउन आवश्यक उपाय तथा संस्थागत संरचना सुधारका विषयमा समेत छलफल भएको सेबोनले जनाएको छ।
आईएमएफ प्रतिनिधि गुप्ताले सेबोनले अघि बढाएका सुधारका पहलको प्रशंसा गर्दै नेपालको वित्तीय क्षेत्रको विकासमा आईएमएफको निरन्तर सहयोग रहने बताउनुभयो। उहाँले पुँजी बजार सुधारसँग सम्बन्धित नीतिगत तथा प्राविधिक विषयमा आईएमएफसहित अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाले सहयोग र समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्