काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको सामाजिक सेवा समिति एवं विपद् तथा दैवी प्रकोप समिति सभापति राजकुमार कार्कीले निजी क्षेत्रलाई विपद् व्यवस्थापनको पूर्वतयारीमा रणनीतिक साझेदार बनाउन आग्रह गरेका छन् ।
विश्व मानवता दिवसको अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले ललितपुरमा गरेको कार्यक्रममा बोल्दै सभापति कार्कीले निजी क्षेत्रलाई विपद्पछि राहत दिने पक्षका रूपमा मात्रै नबुझ्न आग्रह गरेका हुन् ।
उनले भने,“हामीलाई विपद्पछि राहत दिने मात्रै सम्झनु भएन । हामी विपद् व्यवस्थापनको पूर्वतयारीमासमेत रणनीतिक साझेदार बन्न चाहन्छौँ ।”
सभापति कार्कीले नेपाल उद्योग वाणिज्य सङ्घमा १४२ ओटा वस्तुगत सङ्घ, १२० भन्दा बढी जिल्ला नगर समिति र २ हजार भन्दा बढी एसोसिएट्स सदस्य भएको भन्दै आफूहरू विपद् व्यवस्थापनमा एउटा महत्वपूर्ण हिस्सा बन्न सक्ने बताए ।
उनले भने,“विपद् आएपछि राहत उपलब्ध गराउने र सहयोग गर्ने संस्थाका रूपमा मात्रै हामीलाई बुझ्न हुँदैन । यो सरकारपछिको सबैभन्दा ठुलो सञ्जाल भएको संस्था हो । हामीलाई साझेदारका रूपमा सम्झनुभयो भने सङ्घदेखि स्थानीय तहसम्म सहयोग पुग्ने छ ।”
उनले विपद् प्राकृतिक मात्रै नभएर युद्ध तथा विभिन्न विध्वसंसात्मक घटनाले समेत विपद् निम्त्याउने भन्दै यसबारे बुझाई फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
उनले उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले ‘६ स्तम्भ र साठी पहल’ मा समेत यो विषय समावेश गरेको जानकारी दिँदै विपद व्यवस्थापनमा महासङ्घ जिम्मेवार पक्ष बनेर लाग्न चाहेको बताए ।
कार्यक्रममा महासङ्घबाट सामाजिक सेवा समिति एवं विपत् तथा दैवी प्रकोप समिति सभापति कार्की र उपसभापति विश्वनाथ खनालले उपस्थिति जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्