संविधान संशोधनको विषयमा सभापति लामिछानेकाे फरक तर्क, दुई तिहाइले मात्रै पुग्दैन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्दैमा संविधान संशोधन गर्न पर्याप्त नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा धारणा राख्दै लामिछानेले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सांसदहरूले बोल्दा संवैधानिक व्यवस्था र कानुनी प्रक्रियालाई ध्यान दिनुपर्ने बताए।

उनले रास्वपाका सांसदहरूलाई पनि संविधान संशोधनको विषय उठाउँदा तथ्य र संवैधानिक प्रावधानलाई ख्याल गर्न आग्रह गरे। उनका अनुसार अहिलेको संविधानलाई स्वीकार गर्दै जनताले दिएको म्यान्डेटअनुसार अघि बढ्नु प्राथमिकता हुनुपर्छ।

लामिछानेले संवैधानिक निकाय र तिनका नेतृत्वमाथि राजनीतिक आरोप लगाउँदा संस्थाकै विश्वसनीयतामा असर पर्न सक्ने चेतावनीसमेत दिए। व्यक्तिप्रतिको असन्तुष्टिका कारण लोकतान्त्रिक संस्थालाई कमजोर बनाउन नहुने उनको भनाइ थियो।

उनले भने, ‘संस्थाको क्षयीकरणले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ’ ।

उनले संविधान संशोधन भए पनि त्यसले विद्यमान व्यवस्थालाई थप मजबुत बनाउने दिशामा हुनुपर्ने धारणा राखे। संविधानका कमजोरी सुधार्ने नाममा संस्थाहरू कमजोर पार्ने प्रयास नगर्न उनले आग्रह गरे।