काठमाडाैँ । नेपाल एलपिजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन र सुरक्षा जोखिम न्युनिकरण गर्न सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै घिमिरेले ग्यास क्षेत्रमा लामो समयदेखि कायम रहेका समस्या समाधानका लागि प्रविधिमैत्री अनुगमन आवश्यक रहेको बताएका हुन् ।
बैठकमा घिमिरेले विगतमा कार्यान्वयनमा ल्याइएको ‘उपभोक्ता कार्ड’ प्रणाली पूर्ण रूपमा असफल भएको स्मरण गराए । राज्यको लगानी र समय खर्च भएपनि उक्त प्रणालीले नतिजा दिन नसकेको उल्लेख गर्दै उनले अहिलेको सन्दर्भमा डिजिटल ट्रयाकिङ प्रणाली नै उपयुक्त विकल्प भएको दाबी गरे ।
सिलिण्डरको भौतिक अवस्था र मर्मतसम्भारका चुनौतीबारे चर्चा गर्दै घिमिरेले फलामको वस्तु भएकाले यसको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । नेपालको कठिन भौगोलिक अवस्था र कच्ची सडकका कारण ढुवानीका क्रममा नयाँ सिलिण्डर समेत कुच्चिने र रङ उप्किने समस्या रहेको उनले जानकारी दिए । यस्ता सिलिण्डरको नियमित ‘हाइड्रो टेस्ट’ र पेन्टिङ गर्नुपर्ने बाध्यता रहे पनि पेन्टिङका आधारमा मात्र ट्रयाकिङ गर्नु प्रभावकारी नहुने उनको तर्क छ ।
उनले भने, “ट्रयाकिङ प्रणालीले अभावको समयमा मात्र नभई सामान्य अवस्थामा पनि उद्योगी, उपभोक्ता, विक्रेता र राज्यका लागि पारदर्शी तथ्याङ्क उपलब्ध गराउँछ । सिलिण्डरमा पेन्टिङ गरेर मात्र कोड राख्नु दिगो हुँदैन । नयाँ बन्ने सिलिन्डरमा एउटा छुट्टै मेटल प्लेट थप गरी त्यसमा स्थायी रूपमा कोड पञ्च गरिनुपर्छ । यसो गर्दा ट्रयाकिङ प्रणाली भरपर्दो र दीर्घकालीन हुन्छ । तराई र काठमाडौंका विभिन्न स्थानमा १४.२ केजीको ठूलो सिलिण्डरबाट असुरक्षित रूपमा सानो सिलिण्डरमा ग्यास सार्ने काम भइरहेको छ । यसले गर्दा उपभोक्ता ठगिने मात्र नभई ठूला दुर्घटना समेत निम्त्याइरहेको छ ।”
बजारमा भइरहेको असुरक्षित र अवैध ग्यास रिफिलिङ (पल्टी गर्ने) कार्यप्रति घिमिरेले गम्भीर चिन्ता व्यक्त गरे । नेपालका आधिकारिक उद्योगहरूले ५ केजीका सिलिण्डर नभरिरहेको अवस्थामा पनि बजारमा त्यस्ता सिलिण्डर व्याप्त हुनुले सुरक्षा चुनौती बढाएको बताए। जनकपुर लगायतका क्षेत्रमा यस्तै लापरवाहीका कारण वर्षेनी विस्फोट र धनजनको क्षति हुने गरेको तर्फ उहाँले समितिको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया दिनुहोस्