४० हजार उजुरीमा न्युन मुद्दा दर्ता हुनु गम्भीर विषय, प्रक्रिया मिलाएर गरिने भ्रष्टाचार चुनौतीपूर्णः सांसद पोखरेल


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले मुलुकमा व्याप्त भ्रष्टाचारको अवस्था भयावह रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पोखरेलले भ्रष्टाचार नियन्त्रणका लागि केवल भाषण मात्र नभई ठोस परिणामको आवश्यकता रहेकोमा जोड दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारितामाथि प्रश्न उठाए । सांसद पोखरेलले नागरिक समाजले चौतर्फी भ्रष्टाचार देख्नु र आयोगमा उजुरीको सङ्ख्या ४० हजार पुग्नुले मुलुकको बिग्रँदो अवस्थालाई पुष्टि गर्ने बताए । उनले भ्रष्टाचार गर्नेहरूले सबै प्रक्रिया पु¥याएर मात्रै काम गर्ने भएकाले बाहिरी रूपमा प्रमाण जुटाउन कठिन हुने उल्लेख गरे ।

उजुरीको चाङ भएपनि मुद्दा दर्ताको न्यून सङ्ख्या र दर्ता भएका मुद्दाहरू समेत असफल हुनुले अनुसन्धान वा अभियोजनमा कमजोरी रहेको उनको तर्क छ । यसले आयोग, सरकार र न्यायालयप्रतिको जनविश्वासमा ह्रास आएको उनले दाबी गरे । 

उनले भने, “प्रक्रिया मिलाएर गरिएको भ्रष्टाचारलाई सामान्य रूपमा हेर्नु हुँदैन, यसैभित्र प्रवेश गरेर अनुसन्धान गर्न आयोगलाई थप सशक्त, स्वतन्त्र र प्रभावकारी बनाउनु जरुरी छ । जब आयोगकै सदस्यहरू भ्रष्टाचारमा मुछिएको इतिहास छ, तब आम जनतामा विश्वसनीयताको प्रश्न उठ्नु स्वाभाविक हो । अब छलफलमा मात्र समय बिताउने होइन, दोषीलाई कारबाही गर्ने प्रक्रियामा जानुपर्छ ।”

उच्च पदस्थ कर्मचारी र राजनीतिज्ञहरूले प्रक्रिया मिलाएर भ्रष्टाचार गर्ने गरेका कारण ठूलालाई ऐन नलाग्ने भन्ने जनगुनासो बढेको पोखरेलले बताए । उनले सरकारको पहिलो प्राथमिकता सुशासन भएपनि व्यवहारमा त्यो नदेखिएको गुनासो गरे। आयोगले संसदीय समितिका निर्देशनहरू कार्यान्वयन गरेकोमा सन्तोष व्यक्त गर्दै पोखरेलले आयोगका अपेक्षाहरू र सुधारका विषयमा छलफल गर्न समितिको अर्को छुट्टै बैठक बस्नुपर्ने माग समेत गरे ।