काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारलाई परम्परागत शेयर केन्द्रित संरचनाबाट बहुआयामिक वित्तीय बजारमा रूपान्तरण गर्ने लक्ष्यसहित ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ ।
पुँजी बजार विकास मार्गचित्र २०८३ ले बजारलाई ‘इक्विटी सेन्ट्रिक मार्केट’ बाट ‘ मल्टी प्रोडक्ट क्यापिटल मार्केटमा’ रूपान्तरण गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई कार्यान्वयन गर्न भन्दै बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को नीतिअन्तर्गत संस्थागत ऋणपत्र बजार विकासलाई प्राथमिकतामा राखेर नियमावली बनाउने तयारी गरेको हो ।
हालसम्म नेपालको पुँजी बजार मुख्यतः सेयर कारोबारमा सीमित रहेको अवस्थामा ऋणपत्र बजारको विस्तारले वित्तीय प्रणालीलाई थप सन्तुलित, गहिरो र परिपक्व बनाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार ऋणपत्र बजारको विकासले बजारको गहिराई , तरलता तथा जोखिम व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने छ।
नयाँ नियमावलीले बैंक तथा वित्तीय संस्थामात्र नभई योग्य अन्य सङ्गठित संस्थाहरूलाई समेत ऋणपत्रमार्फत दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्न अनुमति दिने व्यवस्था प्रस्ताव गरेको छ । यसबाट पूर्वाधार, ऊर्जा, उत्पादन, पर्यटन तथा अन्य ठूला परियोजनाले बैंकिङ ऋणको विकल्पका रूपमा पूँजी बजारबाट रकम जुटाउन सक्ने अपेक्षा गरिएको छ।
सेबोनले अन्तर्राष्ट्रिय असल अभ्यासलाई आधार मानेर ऋणपत्र दर्ता तथा निष्काशन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी र समयानुकूल बनाउन मस्यौदा तयार गरेको जनाएको छ । मस्यौदामा समेटिएका प्रावधानहरूले नेपालको ऋणपत्र बजारलाई थप विविधिकृत तथा प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।
उक्त मस्यौदा बोर्डको कानुन प्रवलीकरण समितिमा छलफल भई आवश्यक परिमार्जनपछि सार्वजनिक परामर्शका लागि ल्याइएको हो । बोर्डले लगानीकर्ता, सूचीकृत कम्पनी, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, धितोपत्र व्यवसायी, क्रेडिट रेटिङ संस्था तथा अन्य सरोकारवालासँग राय सुझाव मागेको छ ।
यस सम्बन्धमा सुझाव वा प्रतिक्रिया दिन इच्छुक पक्षहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र [email protected]मा आफ्नो धारणा पठाउन सक्नेछन् । प्राप्त सुझावहरूको अध्ययन गरी बोर्डले नियमावलीलाई अन्तिम रूप दिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्