काठमाडौँ । अमेरिका र क्यानडाबिचको व्यापार वार्ता शुक्रबार राति अन्तिम समयमा असफल भएपछि व्यापार युद्धलाई पुनः चर्काएको छ ।
वार्ता असफल भएपछि क्यानाडाले पनि अमेरिकाले लगाएका शुल्कहरू (ट्यारिफ) को बराबरीमा प्रतिकारात्मक शुल्क लगाउने घोषणा गरेको
छ ।
दुवै पक्षले मध्यरातको अन्तिम समयसीमाअघि सम्झौता हुने आशावादी सङ्केत दिएका थिए, जसले क्यानडाका विभिन्न वस्तुमाथि अमेरिकाले लगाउन लागेको ५०% ट्यारिफ रोक्न सक्थ्यो । तर वार्ता निष्कर्षमा पुग्न नसकेपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले दुवै देशका उद्देश्य अनुरूप सहमति हुन नसकेको सिएनएनले जनाएको छ ।
उनले जारी गरेको वक्तव्यमा भनिएको छ,“फलस्वरूप, आज साँझ मैले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेको छु र क्यानडाका वार्ताकारहरूलाई ओटावा फिर्ता आउन निर्देशन दिएको छु । ”
यसपछि क्यानडाका करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा अमेरिकाको ५०% ट्यारिफ लागू भएको छ ।
प्रधानमन्त्री कार्नीले थपे,“हाम्रा कामदार र व्यवसायहरूको संरक्षण गर्न क्यानडाले पनि ती ट्यारिफहरूलाई डलर–बराबर–डलरको आधारमा जवाफ दिनेछ ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री मार्क कार्नी, साथै दुवै देशका उच्च व्यापार अधिकारीहरू, सम्भावित सम्झौताका लागि साताभर प्रत्यक्ष सम्पर्कमा थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ लागू गर्ने म्याद तीन दिन थप गरेपछि वार्ताले सकारात्मक दिशा लिएको देखिएको थियो । तर अन्तिम समयमा सहमति जुट्न नसक्दा दुवै देशबीचको व्यापारिक तनाव पुनः बढेको छ ।


प्रतिक्रिया दिनुहोस्