आधुनिक प्रशासनका लागि प्रविधिसँगै नैतिकता र इमान्दारी अपरिहार्य छः राष्ट्रपति पौडेल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रशासन र व्यवस्थापनका लागि प्रविधि मात्र पर्याप्त नहुने बताउँदै नैतिकता, आचरण र इमान्दारी अपरिहार्य रहेको बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शासन र विश्वव्यापीकरणका कारण विश्वमा प्रविधिको विकास र परिवर्तनको गति तिब्र भएको बताए ।

उनले बदलिँदो समयअनुसार प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासहरूलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए । प्रविधिमा जतिसुकै परिवर्तन आए पनि आधारभूत मानवीय मूल्यहरूको महत्त्व सदैव अक्षुण्ण रहने उनको भनाइ छ । 

उनले भने, “प्रविधि र क्षमता अरूबाट सापट लिएर पनि उपयोग गर्न सकिन्छ, तर आचरण, नैतिकता र इमान्दारी व्यक्तिको आफ्नै अन्तःकरणको विषय हो । इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिवद्धता जस्ता मूल्यहरू कहिल्यै पुराना हुँदैनन् ।”

आधुनिक प्रशासनको आधार नै नैतिक र जिम्मेवार नेतृत्व भएको उल्लेख गर्दै उहाँले आजको समाजमा नैतिकता र इमानदारीको खाँचो अझ बढी रहेको औँल्याए । राष्ट्रपति पौडेलले साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले सुशासन, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिमा आगामी दिनमा अझ प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।