काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने उल्लेख गरे ।
यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिई सही निर्णय लिन सहयोग पुग्ने उनको विश्वास छ ।
अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक भएको चर्चा गर्दै उनले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी तथा प्राविधिक कौशल प्रदान गरी आत्मनिर्भर बन्ने आधार तयार पारेको बताए ।
विद्युतीय सवारीको व्यापक प्रयोगले इन्धनको परनिर्भरता घटाई व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुग्ने उनले उल्लेख गरे । साथै, कार्बन उत्सर्जन न्युन गर्दै सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न ‘ईभी’ प्रविधि निर्णायक सावित हुने उनको भनाइ छ ।
वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्नेमा उनले जोड दिए । यसका लागि नीतिगत स्थायित्व र चार्जिङ स्टेशन जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबिच सहकार्य हुनुपर्ने उनको सुझाव छ ।
उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको विकास र यसबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग र समुदायसम्म पुग्नुपर्ने बताए । नयाँ सोच र स्टार्टअपहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको लहर सिर्जना गर्न नाडा अटो शोले योगदान पु¥याउने उनले अपेक्षा गरे । स्वदेशी कच्चा पदार्थमा आधारित अटोपाट्र्स उत्पादनलाई प्रवद्र्धन गर्दै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढाउन उनले व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
उपराष्ट्रपति यादवले भने, “हाम्रो देश जलस्रोतमा धनी छ र हामी जलविद्युत उत्पादनमा तिब्र गतिमा अघि बढिरहेका छौँ । यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौँ रुपैयाँ जोगाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै बुद्धिमानी र दिगो उपाय हो ।”
नाडाको स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नाडा अटो शो २०२६ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ उन्मुख गराउन सशक्त उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले देशको समृद्धिका लागि निजी क्षेत्र, सरकार र नागरिक समाजको एकीकृत प्रयास अपरिहार्य रहेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस्