काठमाडाैँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङमार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेले यस्तो बताएका हुन्।
उनले आउटसोर्सिङबाट आएको श्रमिक भएपनि श्रमिकको सुरक्षा, पारिश्रमिक र श्रम अधिकार सुनिश्चित गर्ने जिम्मेवारी रोजगारदाताको भएको स्पष्ट पारे ।
उनले आउटसोर्सिङबाट आएका कामदारको हकमा रोजगारदाताले सबै जिम्मेवारी आउटसोर्सिङ कम्पनीलाई थोपार्ने प्रवृत्ति रहेको पनि बताए। महानिर्देशक पाण्डेले विभागले श्रम ऐन कार्यान्वयनका सबै विषय नियमित रूपमा अनुगमन गर्न नसक्ने र विभागमा उजुरी परेका विषयमा मुख्य रूपमा कारबाही तथा छानबिन गरिरहेको समेत बताए ।
उनले अदक्ष श्रमिकको हकमा रोजगारदाताले शुरुका तीन महिना आवश्यक तालिम उपलब्ध गराउनुपर्ने र त्यसपछि राज्यले तोकेको न्युनतम पारिश्रमिक दिनुपर्ने व्यवस्था कार्यान्वयनमा समस्या देखिएको बताए ।
उनले भने, “आउटसोर्सिङबाट काम लगायौँ भन्दैमा रोजगारदाता आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । श्रमिक ल्याउँदै गर्दा आउटसोर्सिङ कम्पनीले त्यो अनुसारको पैसा दिएको छ कि छैन ? त्यो विल भर्पाई हेर्ने जिम्मा त तपाईंको हो नि । हामीले श्रम ऐनको कार्यान्वयन भए नभएको विषयमा सबै कुरा त हेर्दैनौँ । विभागमा उजुरी परेको विषय मात्र हेर्छौं । अनस्किल्ड श्रमिको विषयामा रोजगारदाताले शुरुको तीन महिना आवश्यक तालिम दिने र त्यसपछि राज्यले तोकेको न्यूनतम् पारिश्रमिक दिने कुरामा अहिले पनि रोजगारदाता तयार हुनुहुँदैन । आउटसोर्सिङको क्षेत्रमा यस्ता व्यवहारिक समस्या पनि देखिएको छ । मामीले श्रम ऐनको विषयमा सचेतना फैल्याउने, ऐनबारेमा जानकारी दिने कुरा गर्नुपर्छ । हामीले हाम्रो निकायबाट यो प्रयास गरिरहेका छौँ ।”
महानिर्देशक पाण्डेले श्रम ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्याको समाधानका लागि श्रमिक र रोजगारदाता दुवैलाई कानूनबारे जानकारी र सचेतना फैलाउन आवश्यक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्