रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा भीषण बाढी : उच्च सतर्कता अपनाउन सरकारको आग्रह


काठमाडाैँ । आज बिहान करिब ९ बजेदेखि छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अकस्मात् लेदोसहितको भीषण बाढी र्लेर आएको छ। स्थानीय स्तरमा भारी वर्षा बिना नै अकस्मात् आएको यो बाढीका कारण रसुवा जिल्लाको सीमावर्ती बजार टिमुरे, स्याफ्रुबेँसी क्षेत्रका बस्ती, व्यापारिक भवन, सडक सञ्जाल तथा रसुवागढी र चिलिमे जलविद्युत् आयोजनाका संरचनाहरूमा व्यापक क्षति पुगेको छ।
बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

सरकारले सम्भावित क्षति न्युनीकरण लागि उद्धार तथा राहतका सम्पूर्ण संयन्त्रहरूलाई तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न सरोकारवाला निकायहरूलाई निर्देशित गरेको हो । विशेष गरी रसुवा र नुवाकोट जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

नदी किनार, पहिरोको जोखिम भएका स्थानहरूमा नजान र अत्यावश्यक बाहेकका यात्रा नगर्न समेत सचेत गराइएको छ । स्थानीय प्रशासन र आधिकारिक निकायहरूबाट जारी हुने सूचना र चेतावनीको पूर्ण पालना गर्न नागरिकहरूमा अपिल गरिएको छ । तिब्बततर्फबाट ठूलो बाढी आएको बताइएको छ । भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई शतर्कता अपनाउन आग्रह गरेको छ । 
स्मरणीय छ यसअघि २०८२ असार २४ मा पनि भोटेकोशी/ल्हेन्दे खोलामा यसै गरी वर्षा बिना अचानक बाढी आएको थियो। पछि भू-उपग्रह विश्लेषणबाट रसुवागढीभन्दा करिब ३६ किलोमिटर उत्तर, तिब्बतको पुरुगु/ल्हेन्दे खोलाको माथिल्लो भागमा रहेको सुप्राग्लेसियल ताल फुटेर पानी बगेको पुष्टि भएको थियो।