काठमाडाैँ । रसुवाका सांसद एवं नेपाली काँग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले ठूलो क्षति गरेको बताएका छन् । उनले गतवर्ष आएको बाढीभन्दा यस पटकको बाढी ठूलो र विनाशकारी रहेकोले रसुवा, नुवाकोट र धाँदिङमा ठूलो क्षति गरेको बताएका छन् ।
बुधबार पत्रकारहरुसँग सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि कुरा गर्दै उहाँले बाढी प्रभावित क्षेत्रका नागरिकलाई जतिसक्दो छिटो हेलिकप्टरको प्रयोग गरेर उद्धार गर्न सरकारसँग आग्रह गरे ।
सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि हवाई माध्यम प्रयोग गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । प्रभावित क्षेत्रमा नागरिकहरू त्रसित रहेको र धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेको उनले बताए। उनले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्ने उल्लेख गरे ।
उनले भने, “अहिले एकदमै त्यहाँका आम नागरिकहरू एकदमै त्रसित छन् । सोचेको भन्दा अनुमान गरेको भन्दा नि धेरै ठूलो क्षति भएको छ । धेरै परिवारका साथीहरू सम्पर्क नभएर परिवारजनहरू आत्तिनुभएको छ । लगातार फोनहरू आउने देखि लगायत अब त्यहाँ टेलिफोन कनेक्सन पनि छैन । त्यसले गर्दा अब त्यो भूगोलमा जानलाई बाइ रोडको बाटो नभएर अब बाइ एयरबाट गएर रेसक्यू गर्न सकिन्छ, कति सहयोग गर्न सकिन्छ त्यसमा लागौँ ।”
सांसद आचार्यका अनुसार तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएपछि बाढी आएको हो । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, त्रिशूली बजारलगायतका क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले क्षतिको विवरण संकलनमा कठिनाइ भएको उहाँले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्