काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद अर्जुननरसिंह केसीले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले विपद्को समयमा सबै राजनीतिक दल तथा गैरसरकारी संस्थालाई समेत विश्वासमा लिएर काम राहत तथा उद्धारको काममा जुट्न समेत सरकारलाई आग्रह गरे ।
उनले रसुवा–त्रिशूली करिडोर क्षेत्रमा आएको भीषण बाढीबाट रसुवाका दर्जनौँ बस्ती तहसनहस हुनुका साथै प्रहरी र विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत सम्पर्कविहीन भएको समेत उल्लेख गरे ।
सांसद केसीले रसुवामा दर्जनौँ बस्ती समाप्त भएको, धेरै मानिस हराइरहेको तथा प्रहरीसमेत सम्पर्कविहीन रहेको उल्लेख गर्दै सरकारको पहिलो प्राथमिकता खोज तथा उद्धार हुनुपर्नेमा जोड दिए । उनले यस कठिन समयमा प्रतिपक्षी दलहरु सरकारको साथमा रहेको समेत बताए ।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, धादिङ लगायतको जिल्ला ठूलो क्षति गरेको छ ।


प्रतिक्रिया दिनुहोस्