काठमाडौँ । २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ असार मसान्तमा २९.८ प्रतिशतले वृद्धि भई २५ अर्ब ३१ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेकोमा २०८३ असार मसान्तमा ४३.८ प्रतिशतले बढेर ३४खर्ब ७३ अर्ब १९ करोड रूपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८३ असार मसान्तमा ६१.४ प्रतिशतले वद्धि भई ४ खर्ब २४ अर्ब ४८ करोड रूपैयाँ कायम भएको छ ।
२०८३ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६३.८ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्