चितवनमा शव फेला पर्ने क्रम बढ्दो, संवेदनशील तस्बिर सार्वजनिक नगर्न प्रशासनको आग्रह


चितवन । रसुवाको बाढीले बगाएकाको शव चितवनको नदी किनारामा भेटिने संख्या बढ्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान ८ बजेसम्म ६४ शव भेटिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव भेटिन क्रम बढेको जानकारी दिए ।

प्रशासनले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिका शव फेला पर्ने क्रम बढ्दै गएकाले शव व्यवस्थापनका लागि आवश्यक स्थानको समेत अभाव देखिन थालेको जानकारी गराएको छ ।

चितवनका अस्पतालहरुमा एकैपटक ५० वटा भन्दा बढी शव व्यवस्थापन गर्न सकिने अवस्था नभएकोले शव व्यवस्थापनमा समेत चुनौती देखिएको छ ।

विपद्का क्रममा कतै शव फेला परेमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

त्यसैगरी, बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित व्यक्ति वा मृतकका शवसँग सम्बन्धित संवेदनशील तस्बिर तथा भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक नगर्न प्रशासनले अनुरोध गरेको छ।

यस्ता सामग्री सार्वजनिक गर्दा सर्वसाधारणमा त्रास, मानसिक तनाव तथा आतङ्कको अवस्था सिर्जना हुन सक्ने भन्दै प्रशासनले संयमता अपनाउन आग्रह गरेको हो।

विपद्को कठिन परिस्थितिमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न तथा प्रशासनको अनुरोध पालना गर्न सबै पक्षलाई अपिल गरेको छ।