राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छौँः गगन थापा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनितिक दल सरकारसँगै रहेको बताएका छन् । 
बिहीबार बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विपत्तिको समयमा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताएका हुन् ।

उनले विपतको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई समेत परिचालन गर्नुपर्ने उल्लेख गरे । हाल बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पु¥याउन सबै पक्ष जुट्नुपर्ने उनको भनाइ छ ।

बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले राजनितिक दलका कार्यकर्तालाई परिचालन गर्न तयार रहेको बताए । उनले सबै राजनितिक दलहरुलाई सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा सहभागी हुन आग्रह गरे ।

उनले सरकारले गरेको आग्रहअनुसार नेपाली काँग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने जानकारी दिए । विपत्तिमा सरकारसँग उपलब्ध स्रोत साधनबाट मात्रै उद्धार तथा राहतमा सम्भव नहुने उनको भनाइ छ । उनले सबै सहयोगीहरुलाई राज्यले तोकेअनुसार एकद्वार प्रणालीमार्फत आवश्यक सहयोग गर्न पनि आग्रह गरे ।

उनले काँग्रेसले पनि बाढी प्रभावित क्षेत्रमा उद्दार, राहत तथा पुनस्थापनको लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिए ।