काठमाडाैँ । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको बताए । यद्धपी क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उनको भनाइ छ ।
उनका अनुसार महासंघको आपतकालीन कार्यसमिति बैठकले बाढीबाट क्षति पुगेका सवारीसाधनको विवरण संकलन गर्न केन्द्रिय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
बाढीपीडित यातायात व्यवसायी तथा मजदुरको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग आवश्यक समन्वय गर्नेगरी समिति गठन गरिएको उनले जानकारी दिए ।
सिटौलाकाअनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका २५ वटा बसको अवस्थासमेत अहिलेसम्म अज्ञात छ । उनले बससहित बसमा सवार यात्री र ५० जना कर्मचारी समेत सम्पर्कविहीन रहेको जानकारी दिए ।
उनले नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको बताए ।
नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक ढुवानीका सवारीसाधन प्रभावित भएको तथा ती सवारीमा कार्यरत चालक, सहचालक र मजदुरको अवस्था समेत अझै अज्ञात रहेको उनले बताए।
उनले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आ–आफ्ना स्थानबाट सहयोग गर्न समेत सबैमा अपिल गरे । बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत तल्लो तटीय क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ । विपद्पछिको खोज तथा उद्धार, राहत र पुनस्र्थापनाका लागि राज्य संयन्त्र परिचालित छन् ।


प्रतिक्रिया दिनुहोस्