एनसेलको बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिन उपलब्ध हुने


काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज तथा उद्धार र राहत वितरणलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप ७ दिन बढाएको छ।

कम्पनीका अनुसार यसअघि घोषणा गरिएको तीन दिने निःशुल्क सेवा अवधि शुक्रबार समाप्त हुँदैछ। त्यसपछि शनिबारदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा थप एक सातासम्म यी सेवा निःशुल्क उपलब्ध हुनेछन्।

यसअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा एनसेलले तीन दिनसम्म निःशुल्क डेटा, अन-नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो।

विपद्का समयमा सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सञ्चार सेवाको महत्वपूर्ण भूमिका हुने भएकाले सेवा अवधि थप गरिएको एनसेलले जनाएको छ।

यसबाट प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने कम्पनीको विश्वास छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा प्रभावित समुदाय र उद्धार तथा राहतमा खटिएका टोलीलाई सञ्चार सम्पर्क कायम राख्न सहज होस् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको बताए।

१८ मोबाइल टावर पुनःसञ्चालन

बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका एनसेलका १८ वटा मोबाइल टावर पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। थप ९ वटा प्रभावित टावर पुनःसञ्चालनका लागि काम भइरहेको पनि एनसेलले जनाएको छ।

कम्पनीले विपद्को समयमा सञ्चार सेवा निरन्तर राख्दै आपत्कालीन खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउँदै आएको जनाएको छ।

यसैबीच, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बिहीबार एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्दै एनसेलले एसएमएस तथा आफ्ना सामाजिक सञ्जालमार्फत आवश्यक सूचना समेत सम्प्रेषण गरिरहेको जनाएको छ।