चितवन । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी किनारमा भेटिएका पहिचान नखुलेका २२८ शव देवघाटस्थित जंगलमा व्यवस्थापन गरिने भएको छ।
बाढीपछि चितवनमा हालसम्म २३३ शव फेला परेका छन्। तीमध्ये पाँचवटाको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ। लामो समयसम्म शव राख्दा सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शव व्यवस्थापन गर्न लागिएको हो।
भरतपुर महानगरपालिका–१ को रामनगर–देवघाट सडकखण्ड नजिकैको जंगलमा शव व्यवस्थापनका लागि स्थान तयार पारिएको छ। सुरक्षाकर्मीको निगरानीमा दुईवटा डोजर प्रयोग गरेर तीनवटा खाडल खनिएका छन्। खाडल करिब डेढ मिटर गहिरो बनाइएको छ ।
प्रहरीका अनुसार शवलाई छुट्टाछुट्टै ब्यागमा राखेर व्यवस्थित रूपमा गाडिनेछ भएको छ । शव व्यवस्थापनका क्रममा डीएनए परीक्षणका लागि आवश्यक नमुना पनि संकलन गरेर सुरक्षित राखिनेछ।
यसरी शव गाडिए पनि आफन्तको खोजी र पहिचानको प्रक्रिया सजिलो हुने व्यवस्था मिलाइएको छ । कुनै परिवारले आफ्नो आफन्त भएको दाबी गरेमा डीएनए परीक्षणमार्फत पहिचान खुलाउन सकिने र पहिचान पुष्टि भएमा आवश्यक प्रक्रियापछि शव निकालेर परिवारलाई बुझाउन सकिने गरी व्यवस्थापन गरिने चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए ।
भोटेकोशी बाढीले बगाएर ल्याएका शव नारायणी नदीका विभिन्न क्षेत्रमा भेटिने क्रम जारी छ। लामो समयसम्म शव राखिरहँदा स्वास्थ्य जोखिम र व्यवस्थापनमा समस्या देखिएपछि सुरक्षित तथा व्यवस्थित रूपमा अन्त्येष्टि गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस्