काठमाडौं । भोटोकोसी बाढीपछि तत्कालीन राहत तथा प्रतिकार्यअन्तर्गत संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले प्रभावित ७ सयभन्दा बढी परिवारका लागि आपत्कालीन खाद्य सामग्री पठाएको छ ।
एफएओले कृषि तथा पशुपन्छी क्षेत्रको क्षति न्यूनीकरणका लागि कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पशु सेवा विभागलाई आपत्कालीन पशु उपचार औषधि तथा सामग्री समेत उपलब्ध गराइरहेको छ। बाढी प्रभावित क्षेत्रमा पशुको उपचार, रोगको सम्भावित प्रकोप रोकथाम तथा पशु स्वास्थ्य व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो।
पशु स्वास्थ्य सहयोगअन्तर्गत एन्टिबायोटिक, परजीवी नियन्त्रणका औषधि, सूजन तथा दुखाइ कम गर्ने औषधि, इलेक्ट्रोलाइट, खनिज पदार्थ, घाउ उपचारका सामग्रीलगायत आवश्यक पशु स्वास्थ्य सामग्री रहेका छन्। बाढीबाट पशुधन गुम्ने वा प्रभावित हुने जोखिममा रहेका कृषक परिवारका लागि यो सहयोग महत्वपूर्ण हुने एफएओले जनाएको छ।
यसैबीच, एफएओले बाढीबाट भएको क्षतिको प्रारम्भिक अवस्था पहिचान गर्न स्याटेलाइटमा आधारित द्रुत मूल्याङ्कन समेत गरेको छ। स्याटेलाइट–२, ल्यान्डस्याट–८, प्लानेटस्कोप र युनोस्याटका तस्बिर तथा तथ्यांक प्रयोग गरी गरिएको विश्लेषणले प्रभावित नदी करिडोरमा बाढी, लेदो तथा गेग्रानसहितको बहाव र माटो थुप्रिने समस्या व्यापक रहेको देखाएको छ।
युनोस्याटको नक्साङ्कनअनुसार बाढीपछि रसुवामा करिब २० वर्ग किलोमिटर क्षेत्रमा लेदो तथा चट्टानसहितको बहाव देखिएको छ। त्यस्तै, नुवाकोटमा करिब १० देखि ११ वर्ग किलोमिटर क्षेत्रमा त्यस्तो प्रभाव देखिएको छ।
एफएओको प्रारम्भिक अनुमानअनुसार बाढी, कटान र गेग्रान थुप्रिँदा करिब २७८ हेक्टर कृषि भूमि प्रभावित भएको हुनसक्छ। प्रभावित कृषियोग्य भूमिमध्ये बिदुरमा करिब १६६ हेक्टर, बेलकोटगढीमा ५५ हेक्टर, उत्तरगयामा २७ हेक्टर र तारकेश्वरमा २६ हेक्टर प्रभावित भएको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ।
स्याटेलाइट विश्लेषणअनुसार बाढीको प्रभावबाट रसुवामा करिब २ हजार र नुवाकोटमा करिब ४ हजार ८ सय जना प्रभावित वा जोखिममा परेको हुनसक्ने अनुमान गरिएको छ।
बाढी नेपालको कृषि क्यालेन्डरको महत्वपूर्ण समयमा आएको हो। यसले कृषक परिवारले सञ्चित गरेर राखेको खाद्यान्न, खेतमा रहेको बाली, बीउबिजन तथा पशुधनमा जोखिम बढाएको छ। साथै, आगामी बाली लगाउने र भित्र्याउने कार्यसमेत प्रभावित हुनसक्ने देखिएको छ।
एफएओले बाढी प्रभावित क्षेत्रमा नेपाल सरकारसँगको समन्वयमा आपत्कालीन खाद्य सहायता, पशु स्वास्थ्य सहयोग, प्रभाव तथा क्षति मूल्याङ्कन, स्याटेलाइटमा आधारित क्षति विश्लेषण, समन्वय तथा कृषि जीविकोपार्जन पुनःस्थापनाको योजना निर्माणमा सहयोग गरिरहेको जनाएको छ।
एफएओका अनुसार हालको सहयोगको मुख्य उद्देश्य प्रभावित कृषक समुदायका बाँकी उत्पादनशील सम्पत्ति तथा स्रोतको संरक्षण गर्नुका साथै बाढीबाट प्रभावित कृषि तथा पशुपालनमा आधारित जीविकोपार्जनलाई पुनःस्थापित गर्न सहयोग पुर्याउनु रहेको एफएओ नेपालका सहायक प्रतिनिधि अरुण जिसीले बताए।


प्रतिक्रिया दिनुहोस्