काठमाडौं । सरकारले भोटेकोशी बाढीपीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत सङ्कलन र अन्तर्राष्ट्रिय सहयोग परिचालनलाई तीव्र बनाएको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘उद्धार अनुरोध पोर्टल’ मार्फत प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा प्राप्त सहयोगको विवरण पारदर्शीरूपमा सार्वजनिक गरिएको जानकारी गराएको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषअन्तर्गत ९ ओटा वाणिज्य बैंकका खातामा कुल ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। त्यसैगरी हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर प्राप्त भएको छ ।
सरकारले सहयोगकर्ताहरूलाई वित्तीय ठगीबाट जोगिन तथा सहयोगको पारदर्शी उपयोग सुनिश्चित गर्नका लागि आधिकारिक ‘क्युआर कोड’ तथा प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष नाममा रहेका खातामार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराईएको छ ।
राहत सामग्री सङ्कलन तथा वितरण जारी
पीडितहरूका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यवस्थापनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र तथा बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री सङ्कलन भइरहेको छ ।
सङ्कलित सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयासम्म पु¥याउने कार्य जारी रहेको छ । त्यसपछि उक्त सामग्री धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेकमा वितरणका लागि पठाइने गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाकर्मी तथा सरोकारवालाहरू सम्मिलित समितिमार्फत प्रभावित क्षेत्रमा राहत सामग्री वितरण भइरहेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता
विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदार तथा मित्रराष्ट्रहरूले आर्थिक तथा मानवीय सहयोगको प्रतिबद्धता जनाएका छन्।
एसियाली विकास बैंक (एडिबी) ले ५० लाख अमेरिकी डलर अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता उपलब्ध गराउने जनाएको छ । विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । त्यसैगरी, अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर, अष्ट्रेलिया सरकारले १० लाख अमेरिकी डलर नगद सहयोग र स्वीट्जरल्याण्डले १० लाख स्वीस फ्र्याङ्क संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुनेगरी उपलब्ध गराएको छ ।
मानवीय सहायता अन्तर्गत भारत सरकारले हालसम्म तीन चरणमा ५७.५ टन राहत सामग्री तथा अत्यावश्यक औषधि प्रदान गरिसकेको छ ।
चीन र अमेरिकाबाट पनि यस्तै प्रकारका सहायता सामग्री आउने क्रममा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । चीनसँग ३० ओटा बेली ब्रिज सहयोगका लागि अनुरोध गरिएको छ । यसैबिच, भारत र चीनबाट शव व्यवस्थापनका लागि २÷२ हजार ‘एयर टाइट ब्याग’ प्राप्त भएको सरकारले जनाएको छ ।
सरकारका अनुसार विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा सहयोगी निकायहरूबाट सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्