सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषमा ६० करोडभन्दा बढी सहयोग


काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ।

रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले विभिन्न ८३ उद्योगी, व्यापारिक समूह तथा परोपकारी व्यक्तिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत सरकारलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ।

भदौ ११ गतेदेखि राहत कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन सुरु गरिएयता सोमबार सबैभन्दा धेरै रकम प्राप्त भएको हो।

सरकारले प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत सहयोग रकम सङ्कलन गर्ने व्यवस्था भदौ ११ गतेदेखि सुरु गरेको थियो। त्यसयता भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ तथा दुई लाख अमेरिकी डलर बराबरको सहयोग प्राप्त भएको थियो।

मन्त्रालयको तथ्याङ्कअनुसार चार दिनमा अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषमा कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ जम्मा भएको छ। यसमध्ये ८० हजार रुपैयाँ नगद रहेको छ भने बाँकी रकम ‘अकाउन्ट पेयी’ चेकमार्फत प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा दुई लाख अमेरिकी डलर बराबरको चेकसमेत प्राप्त भएको छ।