कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यास उपत्यका बाहिर भरिँदै


काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँमा खपत हुने एलपी ग्यास उपत्यका बाहिरका उद्योगमा भरेर ल्याइने भएको छ।

नेपाल आयल निगमले उपत्यका र आसपासका १६ उद्योगलाई बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगमा ग्यास भर्न अनुमति दिएको हो।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार वैकल्पिक सडक प्रयोग गरेर ग्यास काठमाडौँ ल्याइनेछ। उपत्यका र आसपासका जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्ने उनले बताए।

बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार बाहिरी जिल्लाका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेको छ। उनका अनुसार श्री, श्रीकृष्ण, श्रीराम, नेपाल ग्यास, एभरेष्ट र सुगमलगायत उद्योगले विभिन्न उद्योगसँग समन्वय गरी ग्यास भर्न थालेका छन्।

कृष्णभीरको सडक नखुलेसम्म वैकल्पिक मार्गबाट आपूर्ति जारी रहने भएकाले उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चय गर्नुपर्ने अवस्था नरहेको उद्योगीहरूले बताएका छन्।