पशुपतिनाथमा आज ‘राष्ट्रिय क्षमा पूजा’ गरिदैँ


काठमाडौँ । पशुपतिनाथमा आज ‘राष्ट्रिय क्षमा पूजा’ गरिने भएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितहरूको शीघ्र उद्धार, घाइतेहरूको स्वास्थ्यलाभ तथा जनजीवन सहज हुने कामनासहित ‘राष्ट्रिय क्षमा पूजा’ आयोजना गरिएको पशुपति क्षेत्र विकाष कोषले जनाएको छ ।

कोषका अनुसार मंगलबार श्री पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा विशेष पूजा गरिनेछ। यस्तै, गुह्येश्वरी मन्दिरमा चण्डीपाठ समेत गरिने कार्यक्रम रहेको छ।

विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा उपचारमा सहजता होस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र देशमा जनजीवन सामान्य बन्दै जाओस् भन्ने कामनाका साथ धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको कोषले जनाएको छ।

पूजा तथा धार्मिक अनुष्ठान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जनाइएको छ। पशुपति क्षेत्र विकास कोषले यस कार्यक्रमलाई राष्ट्रिय विपद्का बेला शान्ति, कल्याण र सहज जनजीवनको कामनासहित आयोजना गर्न लागेको जनाएको छ ।