काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा जनसरोकारका विषयलाई सम्बोधन गर्न संसदको भुमिका महत्वपूर्ण हुने बताएकी छिन् ।
मंगलबार आयोजित कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् बैठक शिघ्र सुचारु गर्नुपर्नेमा जोड दिएकी हुन् ।
प्रमुख सचेतक थापाकाअनुसार यसअघि भदौ २२ गतेका लागि तय गरिएको संसद बैठक राजनीतिक दलहरूको आग्रह र कार्यव्यवस्था परामर्श समितिको निर्णयबमोजिम बुधबार (भोलि) देखि नै सुचारु हुने भएको छ ।
भोलिको बैठकमा हालैको अविरल वर्षा, बाढी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारलाई प्रभावकारी बनाउन विशेष प्रस्ताव पारित गरिने उनले जानकारी दिइन् ।
विपद्को समयमा संसद सञ्चालन गर्दा राहत र उद्धारमा बाधा पुग्ने आशंकालाई चिर्दै थापाले भनिन्, “धेरैजसो राहत सामग्रीहरू कार्यथलोमा पुगिसकेका छन्, अबको मुख्य चुनौती व्यवस्थापनको हो । संसद् एउटा यस्तो आधिकारिक थलो हो जहाँबाट जनताले सत्य–तथ्य सूचना प्राप्त गर्दछन् र भ्रम निवारण हुन्छ । संसद सुचारु हुँदा पीडितका समस्याहरूले ठोस निकास पाउनेछन् ।”
उनले उद्धारका लागि प्राविधिक टोलीहरू कार्यक्षेत्रमा खटिसकेको र सांसदहरूले संसद्मार्फत नीतिगत दबाब सृजना गर्नु आवश्यक रहेको उल्लेख गरिन्। भोटेकोशीको बाढी र कृष्णभीरको पहिरोका कारण उपत्यका जोड्ने मुख्य नाकाहरू अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुन सक्ने प्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई यस विषयमा गम्भीर हुन सुझाव दिइन् ।
उनले भनिन्, “सरकार अहिले उद्धार र बेपत्ताहरूको खोजीमा केन्द्रित छ, हामी सरकारसँगै छौँ । तर यही बहानामा बजारमा हुन सक्ने कालोबजारी र मूल्यवृद्धिप्रति व्यापारीहरू सचेत हुनुपर्छ ।”
प्रमुख सचेतक थापाले संकटको यस घडीमा मानवीय संवेदनालाई आत्मसात गर्दै व्यापारिक नैतिकता कायम राख्न र कालोबजारीमा संलग्न नहुन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह गरेकी छिन् । अवरुद्ध राजमार्गहरू खोल्न र आपूर्ति व्यवस्था सहज बनाउन सरकारले छिट्टै ठोस विकल्प निकाल्ने विश्वास समेत उनले व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस्