काठमाडाैँ । नेकपा एमालेका संघीय सांसदहरुले १५ दिनको पारिश्रमिक रसुवा बाढी पीडितहरुलाई दिने भएका छन् । एमालेको मंगलबार बसेको संसदीय दलको बैठकले १५ दिनको पारिश्रमिक बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो ।
संघीय सांसदहरुले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए । सांसदहरुको पारिश्रमिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने उनले बताए । उनकाअनुसार एमालेले बाढीपीडितको राहतका लागि यसअघि एक करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
उनले भने, “बाढी पीडितहरूलाई राहत र उद्धारका लागि सरकारले सहयोग माग गरेको छ, सङ्कलन गरेको छ, नेकपा एमालेले भर्खरै हिजो मात्रै पनि १ करोड २० लाख रूपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । त्यो १ करोड २० लाखलाई टेवा पुग्ने गरी हाम्रो सङ्घीय संसदीय दलका तर्फबाट प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक त्यसमा जम्मा गर्ने हामीले निर्णय गरेका छौँ । त्यसो करिब १२ लाख भन्दा बढी यहाँबाट जम्मा हुने हामीले अपेक्षा गरेका छौँ ।”
एमालेले बाढीपछि उद्धार तथा राहतमा सरकारले प्रभावकारी रुपमा काग गर्न नसकेको एमालेले निष्कर्ष निकालेको छ । सरकारले समयमा नै बाढी प्रभावितहरुको उद्धार गर्न नसकेका कारण कयौँ मानिसले ज्यान गुमाउने अवस्था बनेको एमाले सचेतक महरले बताए । पीडितले राहतसमेत प्रभावकारी रूपमा प्राप्त गर्न नसकेको उनको भनाइ छ ।
उनले सुरुङ तथा अन्य जोखिमयुक्त स्थानमा अझै उद्धार कार्य हुन नसकको बताए । शव व्यवस्थापनमा पनि सरकारको कमजोरी देखिएको उनको भनाइ छ । शव पहिचान नगरी सम्बन्धित परिवारलाई नबुझाई सामूहिक रूपमा गाडिएको भन्दै उनले यस्तो कार्य रोक्नुपर्ने बताए । उनका अनुसार एमालेले उद्धार, राहत, शव व्यवस्थापन तथा बेपत्ताको खोजी कार्यको अनुगमन र सरकारसँग आवश्यक समन्वय गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समिति गठनको माग गर्ने र उक्त बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापाले सम्बोधन गर्ने उनले जानकारी दिए ।
बैठकले बाढीबाट प्रभावित परिवारप्रति संवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्