भोटेकोशी बाढी प्रभावितका लागि हिमालयन रि–इन्स्योरेन्सद्वारा एक करोड रुपैयाँ सहयोग हस्तान्तरण


काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले हिमालयन रि–इन्स्योरेन्सले एक करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

कम्पनीका पदाधिकारीहरूले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम (चेक) हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी, सञ्चालक समिति सदस्य आशिष न्यौपाने र अन्डरराइटिङ प्रमुख दिग्दर्शन नेपाल लगायतको उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरण गर्दै कम्पनीका प्रतिनिधिहरूले प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रका बासिन्दाको उद्धार र पुनस्र्थापनाका लागि राज्यले गरिरहेको प्रयासमा निजी क्षेत्रको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

रकम ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अप्ठ्यारो परिस्थितिमा हिमालयन रि–इन्स्योरेन्सले देखाएको सामाजिक उत्तरदायित्व र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।