काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का बेला नेतृत्वको मुख्य भूमिका आफैं उद्धारमा खटिनुभन्दा राज्यका सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्नु रहेको बताएका छन्।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै पराजुलीले संकटका बेला सही निर्णय तत्काल गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र उद्धार तथा राहतमा देखिएका अवरोध हटाउने काम नेतृत्वको प्राथमिकता हुनुपर्ने बताए।
उनले विपद्का बेला कमाण्ड, कोअर्डिनेसन र कम्युनिकेसनको श्रृंखला बलियो बनाउनुपर्नेमा जोड दिए। प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयंसेवकले राज्य र नेतृत्व आफ्नो साथमा दृढतापूर्वक उभिएको अनुभूति गर्न सक्नुपर्ने उनको भनाइ छ।
‘संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन । सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गराउने हो,’ उनले भने।
पराजुलीले विपद्का बेला जिम्मेवार नेतृत्वले उद्धारकर्मीलाई साहस, सम्बन्धित निकायलाई स्पष्ट निर्देशन र नागरिकलाई भरोसा दिन सक्नुपर्ने बताए।
उनले सरकारसँग उपलब्ध सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी खोज, उद्धार तथा राहत वितरणलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
‘पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो जिम्मेवारी पहिचान गरी त्यसमा अडिग रहँदै प्रत्येक निकायलाई जिम्मेवार र परिणाममुखी ढंगले परिचालन गर्न सक्नु नै वास्तविक नेतृत्वको परीक्षा हो,’ उनले भने।
पराजुलीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलगायत सबैप्रति आभारसमेत व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्