काठमाडौँ । रसुवा, नुवाकोट र धादिङमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जीवन विज्ञान परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढी प्रभावित नागरिकको पीडामा साथ र सहकार्यको भावना प्रकट गर्दै जीवन विज्ञान परिवारका तर्फबाट उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। जीवन विज्ञानका श्रद्धेय भानु गुरुदेवले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
जीवन विज्ञान परिवारले विपद्लाई बाहिरी विनाशका रूपमा मात्र नभई मानिसको मन, भावना र चेतनामा समेत गहिरो प्रभाव पार्ने घटनाका रूपमा लिएको जनाएको छ। विपद्बाट प्रभावित नागरिकको मनोबल, आत्मविश्वास र आन्तरिक शान्ति अभिवृद्धि गर्न जीवन विज्ञानले मनोपरामर्श, स्वजागरणलगायत विभिन्न कार्यक्रम छिट्टै सञ्चालन गर्ने जनाएको छ।
जीवन विज्ञान परिवारले रसुवा, नुवाकोटलगायत देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकलाई आफूहरू एक्लो नरहेको अनुभूति गराउँदै पुनःउत्थानका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
“तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको पीडामा जीवन विज्ञान साथमा छ। तपाईंको पुनःउत्थानमा हाम्रो सहकार्य रहनेछ,” जीवन विज्ञान परिवारले विपद्पीडित नागरिकलाई सन्देश दिएको छ।


प्रतिक्रिया दिनुहोस्