पुलिस स्कुल चितवनका विद्यार्थीद्वारा खाजा खर्च राहत कोषमा जम्मा ,शिक्षकले पनि दिए १ दिन बराबरको तलब



काठमाडौँ । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितहरूलाई सहयोग गरेका छन ।

विद्यालयमा गठन भएको विभिन्न क्लबमा आवद्ध विद्यार्थीहरुको सक्रियतामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरूबाट समेत स्वेच्छिकरूपमा सरूकलित रकम विद्यार्थीहरुले आज विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उद्धेश्यले विद्यार्थीहरूबाट सङ्कलित रकम ४७ हजार ८ सय ६० रुपैया, शिक्षक कर्मचारीहरुले प्रदान गरेको एक दिन बराबरको तलब वापतको रकम ४२ हजार ९ सय २३ रुपैंया र अभिभावकहरूमा समेत सङ्कलित ५ हजार गरी जम्मा ९५ हजार ७ सय ८३ रुपैया विद्यार्थीहरुले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन् ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूलाई सबै क्षेत्रबाट सहयोग उपलब्ध भईरहेको देखेर विद्यार्थीहरूले आफ्नो खाजा खर्च बचाएर सहयोग गरेका विद्यालयले जनाएको छ ।

विद्यार्थीहरूले आफ्नो खाजा खर्च मात्रै संकलन नगरी शिक्षक एवम कर्मचारीका साथै आफ्ना अभिभावकहरूलाई समेत सहयोगको लागि अपिल गरेका थिए । कतिपय अभिभावहरूले विद्यालय प्रशासनमानै आएरै सहयोग रकम हस्तान्तरण गरेका थिए भने कतिपयले विभिन्न माध्यमबाट प्रधानमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराएको जानकारी दिएका छन् ।

कक्षा १ देखि १० सम्म गरी सात सय जना विद्यार्थी, ४० जना शिक्षक कर्मचारी र अभिभावकको समेत गरी सङ्कलित ९५ हजार ७ सय ८३ रुपैयाविद्यालय प्रशासनमा प्राप्त भएको हुँदा प्रधानमन्त्री राहत कोषमा जम्मा गरीने विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।

विद्यालयले शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई समेत विभिन्न समयमा विपदीय जोखीम न्युनिकरण, दुर्घटना न्युनिकरण, कानुनी एवम सुरक्षा सचेतनाका साथै सामाजिक व्यवहार एवम आचरणको बारेमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

गत भदौ १० गते नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले कक्षा ६ देखी १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै एक अभिभावक एक विरुवा वितरण कार्यक्रम सञ्चालन गरेको थियो ।