बाढी आएको दिन देखि ६८ परिवारको आश्रयस्थल सम्हाल्दै गोल्याण ग्रुप, दैनिक ५० स्वयंसेवक खटिन्छन् विदुरको चन्द्रज्योति मावि होल्डिङ सेन्टरमा


काठमाडौं । भोटेकोशी लहरको दिन, भदौ १० गते सबै अलमलमा थिए। समाचार हेर्दै र क्षतिको विवरण सुन्दै देश स्तब्ध भइरहँदा एउटा समूह भने त्यही दिन उद्धार र राहतका लागि जोखिम नुवाकोटको विदुर पुग्यो।

बाढिग्रष्त क्षेत्रमा तत्कालै राहतका लागि आवस्यक सामग्री लिएर पुगेको यो समूह थियो नेपालको पुरानो व्यावसायिक घरानामध्येको एक गोल्याण ग्रुपअन्तर्गतको गोल्याण फाउण्डेशनको समुह । टोलीको नेतृत्व युवा व्यवस्थापक ज्योति गैह्रेले गरेकी छिन् । 

बाढी आएकै दिन नुवाकोट पुगेको टोलीले त्यसयता विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेको होल्डिङ सेन्टरको व्यवस्थापन सम्हालिरहेको छ। यहाँ प्रभावित अभिभावकका बालबालिका धेरै छन् । 

तत्काल राहत सामग्री पुर्‍याउनेदेखि विस्थापित नागरिकका लागि भोजन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र होल्डिङ सेन्टर व्यवस्थापनसम्मका काममा फाउण्डेशनको टोली भदौ १० गतेदेखि निरन्तर खटिरहेको छ।

सुरुमा ३० जनाबाट परिचालन भएको स्वयंसेवी समूहमा अहिले दैनिक करिब ५० जना स्वयंसेवक तथा कर्मचारी परिचालन भइरहेका छन्। 

समूहले बिहान, दिउँसो, राति होल्डिङ सेन्टरमा रहेका पीडितका साथी र परिवारका सदस्य जसरी होल्डिङ सेन्टर सम्हालिरहेकाे छ । मानसिक रुपमा पनि विचलित हुन नदिन समुहले विभिन्न खेल तथा अन्य क्रियाकलापमा पीडितलाई संलग्न गराइरहेको छ ‌। 

राहत बाँडेर फर्किएनन्, निरन्तर खटिरहे

बाढीपछि हालसम्म धेरै संस्था तथा समूह राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगे र फर्किए। यो क्रम जारी छ। तर गोल्याण फाउण्डेशनले भने तत्काल राहत वितरणपछि फर्किनेभन्दा प्रभावित नागरिकलाई आवश्यक सेवा निरन्तर उपलब्ध गराउने रणनीति लिएको छ।

होल्डिङ सेन्टरमा भोजनको व्यवस्थापन, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा दैनिक व्यवस्थापनका लागि स्वयंसेवक र कर्मचारी परिचालन भइरहेका छन्। बाढीको पहिलो दिनदेखि सुरु भएको यो परिचालन अहिले पनि निरन्तर छ।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले विपत्तिको समयमा प्रभावित नागरिकलाई साथ र सहयोग दिनुपर्ने मान्यताअनुसार बाढी गएको दिनमै राहत तथा सहयोगको योजना बनाइएको बताएका छन्।

अवस्था सामान्य नभएसम्म सहयोग जारी राख्ने र नेपाल सरकार तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर राहत तथा सहयोगलाई थप प्रभावकारी बनाउने ग्रुपको योजना रहेको उनको भनाइ छ।

होल्डिङ सेन्टरको हिस्सा बनिरहेको गोल्याण ग्रुपको स्वयंसेवी समूह कहिले फर्कन्छ? गैह्रेको उत्तर छ, “फर्कने ठ्याक्कै योजना छैन, कम्तीमा हामीले सम्हालेको होल्डिङ सेन्टरका पीडितको सरकारले पुनःस्थापनाको व्यवस्था गरुञ्जेल हामी साथमै रहन्छौँ।”

६८ परिवारको आश्रयस्थल सम्हाल्दै

गोल्याण फाउण्डेशनले व्यवस्थापन सम्हालिरहेको चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका बाढी प्रभावित ६८ घरपरिवार आश्रय लिएर बसेका छन्।

ती परिवारका सदस्यसहित आसपासका प्रभावित नागरिकसमेत गरी दैनिक करिब ४ सय जनालाई तीनपटक खाना तथा खाजाको व्यवस्था फाउण्डेशनले गर्दै आएको छ।

भोजनसँगै होल्डिङ सेन्टरमा सामान्य स्वास्थ्य सेवा र आवश्यक स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइएको छ। बाढीका कारण विस्थापित बालबालिकाको मानसिक अवस्थालाई ध्यानमा राख्दै उनीहरूका लागि बालमनोपरामर्श तथा खेल सामग्रीको समेत व्यवस्था गरिएको छ।

होल्डिङ सेन्टरमा करिब ४० जना बालबालिका रहेका छन्। गोल्याण फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत तथा गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेका अनुसार विपत्तिको समयमा प्रभावित नागरिकको सबैभन्दा तत्कालीन आवश्यकता गाँस र बसोबास हो।

“बाढी प्रभावितको गाँस र बसोबास पहिलो प्राथमिकता हो। त्यसैले कत्ति पनि ढिलो नगरी बाढी आएकै दिन प्रभावित क्षेत्रमा पुगेका हौँ,” उनले भनिन् । उनका अनुसार होल्डिङ सेन्टरमा रहेका बालबालिकाको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ।

बालबालिकालाई खेलेर, नाचेर पीडा भुलाउन सहयोग गरिरहेको गोल्याण फाउण्डेशनको स्वयंसेवी समूहको भिडियोले सामाजिक सञ्जालमा प्रशंसा पाइरहेको छ।

सरकारको उद्धार कोषमा १ करोड

प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोगमा खटिएको गोल्याण ग्रुपले प्रत्यक्ष प्रभावित क्षेत्रमा निरन्तर योगदान गर्ने जनाएको छ। ग्रुपले सरकारको उद्धार कोषमा समेत योगदान गरेको छ।

ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक शशिकान्त अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

प्राकृतिक विपत्तिको समयमा नागरिक तथा सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ।

गोल्याण ग्रुपले यसअघि जेनेजी आन्दोलनबाट प्रभावित परिवारका बालबालिकाको पढाइ खर्च व्यहोर्ने निर्णय गरेको थियो। ग्रुपले उक्त निर्णय कार्यान्वयनसमेत गरिरहेको छ।