नबिल बैंकद्वारा १५.८०% लाभांश वितरणको प्रस्ताव,५% बोनस सेयर र १०.८०% नगद लाभांश


काठमाडौँ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको ७१२औँ बैठकले साधारणतर्फ ५% बोनस सेयर र १०.८०% नगद लाभांश गरी कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयरको कुल रकम रु. १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि रु. २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम रहेको बैंकले जनाएको छ । उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ ।

बैठकले बैंकको ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८% का दरले रु. २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पूँजी रु ५ अर्ब रहेको छ भने साधारण सेयरतर्फको चुक्ता पूँजी रु २७ अर्ब ५ करोड ६९ लाख हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ ।