काठमाडौं । भोटेकोशी बाढीका क्रममा रसुवा र नुवाकोटबाट ल्याइएका १ सय ६१ शवमध्ये २३ वटामात्रै पहिचान भएको छ । पहिचान हुन नसकेका शवलाई डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
काठमाडौं प्रहरीका अनुसार सोमबार बिहान १० बजेसम्म ५० शव पोष्टमार्टम र डीएनए नमुना संकलनका लागि तयार भइसकेका छन् । बाँकी शवको पनि दिनभरिमा पोष्टमार्टम गरी नमुना सुरक्षित राखेर व्यवस्थापन गरिनेछ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएका शव पहिचानका लागि आफन्तहरू पुगिरहेका छन् । दावीकर्ताले शव आफन्तको भएको पुष्टि गरेपछि आवश्यक प्रक्रिया पूरा गरी जिम्मा दिने गरिएको प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौं ल्याइएका ८५ शवलाई पनि डीएनए नमुना सुरक्षित राख्दै गोकर्णेश्वर–७ दक्षिणढोकास्थित नेपाल ट्रष्टको वन क्षेत्रमा व्यवस्थापन गरिएको थियो । भविष्यमा आफन्तले दाबी गरेमा डीएनए परीक्षण मिलाएर शव उत्खनन गरी हस्तान्तरण गर्न सकिने प्रहरीले जनाएको छ ।
थप शव पनि सोही क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्